Blog


म किन कवि बनिनँ?


शुरु कताबाट गरुँ, मेसै पाइनँ र पनि शुरु गरे। कुनै दिन गुरुले एउटा कविता लेख्न भन्नुभयो। घरमा आएर धमाधम दुई तीनवटा किताब खोजेर सार्न थाले। सायद त्यहि दिन आफैँले आफैँलाई कवि मान्न थाले। तर कठै मेरो दुर्भाग्य, कुनै एउटाले पनि भनेन मलाई कवि भइस् भनेर। त्यहि दिन एउटा सोच गरे , कमसेकम एउटा उपाधि त लिन्छु लिन्छु ।

घरमा आएर कविता पढ्न थालेँ। भूपि शेरचनको 'आमाको सपना' पढेर दिदिको सपना लेख्छु भन्ठानेँ। तर आपत् के पर्यो भने आफैँले देखेको सपना बिहान उठ्दा बिर्सने ले कता बाट दिदिको सपना देख्नु र लेख्नु ,सकिन गद्यकविता लेख्न। लेखनाथ पौडेलको कविता पढेँ शब्दै बुझिनँ। बल्ल तल्ल शब्दकोषको लङ्गडो सहारा लिएर एउटा कबिता लेखेँ। आफैले लेखेको आफैले बुझिनँ, अरुले के बुझुन्। एउटा कोरिएको कागजको टुक्रा शिवाय अरु केहि बन्न सकेन।

कुनै दिन कुन्नि कताबाट एउटा किताब हात पर्यो ,मुनामदन। मुनामदन पढ्न थालेँ। पूरा पढेँ ,पढिनँ , त्यो त मेसो पाइँन। जे होस्, मनमा भ्याएँ भन्ने अनुभुतिको चिसो बतास भने चल्यो र सोचेँ खण्डकाव्य लेख्छु। तर समस्या के पर्यो भने दुई पाना कोर्दा धेरै हुनेलाई खण्डकाव्य ठुलै पहाड थियो। त्यो पहाड चढ्ने आँट नै गरिनँ मैले ।महाकाव्य लेख्नु त झन् सगरमाथा चढ्नु समान थियो मेरो लागी। यति सब प्रयासबाट एउटै निष्कर्षमा पुगेँ, मैले कविता लेख्नु भनेको केवल शव्दको थुप्रो मात्र हुनेछ।

र पनि, सुनेथेँ कतैबाट प्रेमले कसैलाई कवि बनाउँछ रे ।कवि बन्न त्यो खाडलको गहिराई पनि नाप्ने सुर गरेँ। तर प्रेम गर्नु पो को सँग? त्यो पनि कवि नै बन्ने गरि । न आफुँले कसैलाई प्रेम गर्न सकियो न कसैले मसँग प्रेम नै गरेँ।

कविको उपाधिबाट अब हार नै खाएपछि कथाकार बन्ने लहड चल्यो। "एकादेश" बाट शुरु गरेर थुप्रै कथाहरु लेखेर सुनाएँ साथिहरुलाई। तर मैले सुनाएर भ्याउनु भन्दा पहिल्यै उसैले कथा पूरा गर्दिन्थ्यो। न उसले नसुनेका कथा नै लेख्न सकियो न कथाकार नै बन्न सकियो।

एउटाले सल्लाह दियो, उपन्यास लेख्न भनेर। कथा लेख्न त त्यो हालत भएको थियो, उपन्यासमा के होला ? छुदै छोइन उपन्यासलाई त। एउटै बिधा बाँकि रह्यो मैले सकुलाँ जस्तो - निबन्ध। निबन्ध त कैयौँ लेखेँ। पढ्ने पाठक एउटै भेटेँ , त्यो पनि परिक्षाको कापि जाँच्न पर्ने बाध्यतामा। सधै २/१० वा ३/१० को छाप भन्दा केहि उपलब्धि हुन सकेन। अरु कसैलाई सुनायो तीन चोटी हाई काढ्ने।

अति भयो,न उपलब्धि मिल्यो न उपाधी। अन्तिम परेर आफैँले आफैँलाई उपाधि राखेँ, “उपाधिबिहिन" ॥

Stop waiting.
Feel free to

Message Me.

I new friends!